काठमाडौँ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्र बागमती प्रदेशले विभिन्न पदका लागि उम्मेदवार टुङ्ग्याएको छ । बागमतीको चार जिल्लाका विभिन्न ७ पदमध्ये काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्ष बाहेक सबै पदमा उम्मेदवार टुङ्ग्याएको हो ।
कीर्तिपुर नगरपालिकाका मेयर, गौरीशङ्कर गाउँपालिकाका उपाध्यक्षसहित पाँच वडाध्यक्ष पदमा निर्वाचन हुँदैछ । कीर्तिपुर नगरपालिकामा रिक्त मेयर पदमा प्राडा.शिवशरण महर्जनलाई छनोट गरेको छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदका लागि निमलेकी शेर्पालाई उम्मेदवार बनाएको छ । यसैगरी कीर्तिपुर–१ मा अष्टमान महर्जन, सोही नगरपालिकाको वडा नम्बर ४ मा नारायण विष्टलाई उम्मेदवार बनाएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा रविन प्रधान र नुवाकोटको ककनी गाउँपालिका–२ मा मिलन घिमिरेलाई छनोट गरेको छ । काठमाडौँ महानगरपालिका–१६ मा उम्मेदवार छनोट हुन बाँकी रहेको माओवादी बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।
उनले यस पटक अधिकांश क्षेत्रमा एकल निर्वाचन जित्ने गरी तयारी गरिएको दाबी गरे । माओवादीको पदाधिकारी बैठकले निर्वाचनमा एकल उठ्ने निर्णय गरे पनि सत्ता बाहिरका दलहरूसँग सहकार्य गर्ने विकल्प राखेको छ ।











