अघिल्ला राष्ट्रपतीय निर्वाचनमा जस्तै यसपटकको निर्वाचनमा पनि राष्ट्रपति पदका उम्मेदवारले पैसाको खोलो बगाएका छन् । निर्वाचन प्रचारमा खर्च गर्ने मामिलामा डेमोक्य्राटिक पार्टीकी उम्मेदवार ह्यारिस रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पभन्दा दोब्बर अगाडि रहिन् ।
महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा विश्वकै ध्यान केन्द्रित छ । मैदानमा उत्रिएका डेमोक्य्राटिक पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प कडा प्रतिस्पर्धामा छन् । आफ्ना राष्ट्रपति चुन्न ‘अर्ली भोटिङ’ नगरेका मतदाताले ५ नोभेम्बरका दिन मतदान गरे । ‘अर्ली भोटिङ’ मार्फत् करिब १० करोडले मतदान गरिसकेका छन् ।
मतदाता सूचीमा १६ करोड ६४ लाख मतदाता दर्ता छन्, जसमध्ये ५० प्रतिशतभन्दा धेरै मतदाताले ‘अर्ली भोटिङ’ गरे भने थप १५ देखि २० प्रतिशतले ‘इलेक्सन डे’का दिन मतदान गर्ने अपेक्षा गरिएको छ ।
यो मतदानमार्फत ५० राज्यबाट कुल ५३८ इलेक्टोरल कलेज (निर्वाचक मण्डल) निर्वाचिन हुनेछन् र तिनै मतबाट राष्ट्रपति चयन गरिनेछन् । कुनै पनि उम्मेदवारले विजेता हुन कम्तीमा २७० इलेक्टोरल कलेज प्राप्त गर्नुपर्ने हुन्छ । राज्यमा जुन पार्टीका उम्मेदवारले जित हासिल गर्छन्, सबै इलेक्टोरल कलेज सोही पार्टीको हुन्छ । इलेक्टरहरूले अन्य पार्टीका उम्मेदवारलाई मत दिए उनीहरूको पद मात्रै जाने होइन, कतिपय राज्यमा त्यो फौजदारी अपराधसमेत हुने कानुनी प्रावधान छ ।
‘इलेक्सन डे’ ५ नोभेम्बरमा न्यु हेम्पसायरको डिक्सभिलेबाट सबैभन्दा पहिले मतदान सुरुवात भयो भने सबैभन्दा धेरै ५४ इलेक्टोरल कलेज रहेको सुदूरपश्चिमी राज्य क्यालिफोर्नियामा मतदान सबैभन्दा अन्तिममा समाप्त हुन्छ । न्युयोर्कलगायत सुदूरपूर्वका राज्यमा ५ नोभेम्बरको बिहानी हँुदा सुदूरपश्चिमका राज्य ४ तारिखको अपराह्नमै हुन्छन् । यसैले अमेरिकामा सबैतिर मतदान सकिन २० घण्टाभन्दा बढी समय लाग्ने गर्छ ।
अघिल्लो निर्वाचनमा पनि डेमोक्य्राटिककै खर्च बढी
सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पनि डेमोक्य्राटिक पार्टी चन्दा प्राप्त गर्ने र खर्च गर्ने मामिलामा रिपब्लिकन पार्टीभन्दा धेरै अगाडि थियो । सो निर्वाचनमा डेमोक्य्राटिक पार्टीका तर्फबाट राष्ट्रपतिको पदको उम्मेदवार बन्न अर्बपति माइकल ब्लुमवर्गले पैसाको खोलो नै बगाएका थिए । उनले प्राइमरीका लागि मात्रै एक अर्ब १२ करोड ४५ लाख डलर खर्च गरेका थिए । तर, फजुल खर्च र महिलाको शोषणजस्ता विवादले घेरिएर अलोकप्रिय बन्न थालेपछि उनले बिचमै अभियान परित्याग गरेका थिए । डेमोक्य्राटिक पार्टीका उम्मेदवार जो बाइडेनले एक अर्ब सात करोड ३९ लाख डलर खर्च गरेका थिए । डेमोक्य्राटिक पार्टीले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा कुल तीन अर्ब १५ करोड ५० लाख डलरभन्दा बढी खर्च गरेको थियो, जबकि रिपब्लिकनले ८२ करोड ८६ लाख ७८ हजार मात्रै खर्च गर्न सकेको थियो, जसमध्ये ट्रम्पको निर्वाचन अभियानका लागि ८० करोड ८७ लाख ५६ हजार डलर खर्च भएको आयोगको विवरणले देखाउँछ ।
कहिलेसम्म आउला अन्तिम नतिजा ?
मिसिगन, एरिजोना, जोर्जिया, नेभाडा, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिन यसपटकका ‘स्विङ स्टेट’ ठानिएका छन् । यिनै सात राज्यका कुल ९३ इलेक्टोरल कलेज निर्णायक हुने देखिएको छ । एरिजोना नेभाडा, पेन्सिलभेनिया र विसकन्सिनससहित चार राज्यमा ‘एबसेन्टी ब्यालेट’को प्रावधान रहेकाले ती राज्यको परिणाम आउन केही दिन लाग्नेछ । तर, अन्य ‘ब्याटलग्रान्ड स्टेट’मा कुनै उम्मेदवारले निर्णायक जित हासिल गरेमा भने निर्वाचन सकिएको केही समयमै अन्तिम परिणाम आकलन गर्न सहज हुनेछ । सन् २०२० को निर्वाचनमा पनि मतदान सकिएको चार दिनपछि नोभेम्बर ७ का दिन मात्रै जो बाइडेन विजेता घोषित भएका थिए । मतदानको मुख्य दिन अर्थात् नोभेम्बर ५ को मतदान सकिएपछि नोभेम्बर ११ सम्म विजेताले प्रमाणपत्र पाइसक्नुपर्ने डेडलाइन रहेको छ । यही समयसीमामा सबै राज्यका निर्वाचन आयोगले निर्वाचन परिणाम प्रमाणीकरण गरिसक्नेछन् । मत परिणामको ‘सर्टिफिकेसन’पछि १७ डिसेम्बरमा इलेक्टर(निर्वाचक)ले आफ्नो इलेक्टोरल कलेज मतदान गर्नेछन् । कंग्रेसले इलोक्टोरल कलेज मतको गणना सन् २०२५ को जनवरीको ६ मा गर्नेछ । २० जनवरीमा नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण हुनेछ ।
लोकप्रिय मतमा पनि डेमोक्य्राटिककै वर्चस्व
अमेरिकाका अघिल्ला राष्ट्रपतीय निर्वाचनमा जस्तै यसपटकको निर्वाचनमा पनि राष्ट्रपति पदका उम्मेदवारले पैसाको खोलो बगाएका छन् । चुनावी अभियानका क्रममा खर्च गर्नेमा डेमोक्य्राटिक पार्टी र उसका उम्मेदवार धेरै अगाडि देखिएका छन् । निर्वाचन अभियानमा खर्च गर्ने मामिलामा डेमोक्य्राटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा दोब्बर बढीले अगाडि रहिन् । उनले आफ्नो चुनावी अभियानका क्रममा ८८ करोड १० लाख ५८ हजार डलर खर्च गरेकी थिइन् । जबकि उनका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले केवल ३५ करोड ५७ लाख ३४ हजार डलर मात्रै खर्च गरेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।
फेडरल इलेक्सन कमिसन अफ अमेरिकाका अनुसार यो राष्ट्रपतीय निर्वाचनमा विभिन्न उम्मेदवारले कुल दुई अर्ब ४२ करोड ४५ लाख ७५ हजार डलर खर्च गरे । डेमोक्य्राटिक पार्टीले सबैभन्दा धेरै एक अर्ब ७८ करोड ६७ लाखभन्दा बढी खर्च गरेको छ । यो निर्वाचनमा बिचमै राष्ट्रपतीय निर्वाचनको दौड परित्याग गरेका वर्तमान राष्ट्रपति जो बाइडेनले पनि ८९ करोड सात लाख ७९ हजार डलर खर्चिए । लोकप्रियताको ग्राफ घट्न थालेपछि ट्रम्पको आगमन रोक्न उनले बिचैमा उम्मेदारीको दौड परित्याग गरेर कमला ह्यारिसलाई समर्थन गरेका थिए ।
चन्दा प्राप्त गर्नेमा पनि डेमोक्य्राटिक पार्टीकै अग्रता रह्यो । डेमोक्य्राटिक पार्टीले दुई अर्ब दुई करोड २२ लाख ७१ हजार डलरभन्दा बढी चन्दा प्राप्त गरेको थियो । चन्दा प्राप्त गर्नमा पनि रिपब्लिकन पार्टी निकै पछाडि देखियो । उसले डेमोक्य्राटिक पार्टीको भन्दा तेब्बरभन्दा पनि कम मात्रै चन्दा प्राप्त गरेको थियो । यो पार्टीले केवल ६३ करोड ३८ लाख ३६ हजार डलर चन्दा प्राप्त गरेको थियो । चुनावी खर्च पनि डेमोक्य्राटिक पार्टीलेभन्दा निकै कम, केवल ५६ करोड सात लाख ९२ हजार डलर मात्रै गरेको थियो । कमला ह्यारिसलाई कुल ९९ करोड ७९ लाख ५० हजार डलर चन्दा प्राप्त भएको थियो भने ट्रम्पले ३९ करोड १९ लाख ४९ हजार डलर हाराहारी मात्रै प्राप्त गरेका थिए ।
अमेरिकाका सन् १९९२ यताका आठ राष्ट्रपतीय निर्वाचनमध्ये सातमा डेमोक्य्राटिक पार्टीका उम्मेदवारले नै लोकप्रिय मतमा अग्रता प्राप्त गरेका थिए, जसमध्ये पाँच निर्वाचनमा डेमोक्य्राटिककै उम्मेदवार राष्ट्रपतिमा विजयी भए, तर दुईमा भने रिपब्लिकन पार्टीका उम्मेदवार विजयी भए । सन् २०१६ को निर्वाचनमा ट्रम्प राष्ट्रपति पदमा निर्वाचित हुदाँ डेमोक्य्राटिक पार्टीकी हिलारी क्लिनटनले झन्डै ३० लाखभन्दा बढी लोकप्रिय मत प्राप्त गरेकी थिइन् ।
ह्यारिसको प्रचार खर्च ८८ करोड डलर, ट्रम्पको ३५ करोड डलर











